काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा सहभागिता अनिश्चितताबीच बंगलादेशका क्रिकेटरले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) निर्देशकको राजीनामा मागेका छन् ।
क्रिकेटर्स वेलफेर एसोसिएसन अफ बंगलादेश (सीडब्ल्यूएबी)ले बिहीबार बीसीबीका निर्देशक मोहम्मद नज्मुल इस्लामले तत्कालै राजीनामा दिनुपर्ने माग राखेका हुन् ।
“बीसीबीका निर्देशकले गरेको निर्णयले क्रिकेट भावनालाई दुःखी बनाएको छ र यो स्वीकार्य छैन । हामी उनको राजीनामा चाहन्छौँ,” सीडब्ल्यूएबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार बंगलादेaश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलअघिसम्म निर्देशकले राजीनामा नदिए खेलाडीले सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
नज्मुलले यसअघि भारत र श्रीलंकामा हुने विश्वकपमा बंगलादेशले सहभागिता नजनाए खेलाडीले कुनै प्रकारको क्षतिपूर्ति नपाउने बताएका थिए । आउँदो फेब्रुअरी ७ देखि सुरु हुने तय प्रतियोगितामा राजनीतिक खिचातानी हुँदा बंगलादेशले भारतमा विश्वकप नखेल्ने अडान लिएको छ ।


