३ आश्विन २०८१, बिहिबार 1726802314
अपराध

श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको मृत्यु

चितवन — श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी चितवन कठारकी महिलाको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा सोमबार राति मृत्यु भएको छ । खैरहनी नगरपालिका– १० की ४० वर्षीया ती महिलालाई उनका श्रीमानले बिहीबार साँझ निर्घात कुटपिट गरेका थिए । प्रहरीले महिलाका ४० वर्षीय श्रीमानलाई पक्राउ गरेर जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन अनुसन्धान सुरु गरेको थियो ।‘उपचारका क्रममा गए राति ११ बजेर ५० मिनेट जाँदा ति महिलाको भरतपुर अस्पतालमा निधन भएको छ’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले भने । उपचारमा संलग्न चिकित्सक र उद्धार गरेका आफन्तका अनुसार श्रीमानको कुटाइबाट ती महिलाको कम्मरको तल्लो भागमा नराम्ररी चोट लागेको थियो । उनको गुप्ताङ पनि क्षतविक्षत भएको थियो ।

स्थानीयले ती महिलालाई उपचारका लागि बिहीबार राति नै भरतपुर अस्पताल ल्याएका थिए । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मलद्वारबाट लौरो छिराएका कारण महिलाको गुप्ताङसमेत क्षतविक्षत थियो । ढाडमा बेस्सरी कुटपिट गरेका कारणले आङको हड्डीमा पनि चोट लागेको थियो । उनको सोमबार दिउँसो शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।

‘हिजो दिउँसो तीन बजेतिर अप्रेसन भएको थियो । त्यसपछि अवस्था सुधारोन्मुख नै थियो । राति एक पटक शौचालय पनि गएको कुरुवाहरुले बताएका थिए । तर मध्यरातमा अचानक त्यस्तो भयो । मुटुको चाल एक्कासि बन्द भयो,’ सूचना अधिकारी पौडेलले भने । अस्पतालमा रहेका आफन्तका अनुसार श्रीमान–श्रीमतीबीच सधै झैं भगडा हुन्थ्यो । तर यो पटक अति नै भएको उनीहरुले बताए ।