काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले निर्वाचनपछि गठन हुने संसद् र सरकारमा आफ्नो पनि भूमिका रहने चाहना व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले लोकतन्त्रलाई सुदृढ बनाउन संसद् र सरकारमा सञ्चार क्षेत्रको प्रतिनिधित्व आवश्यक रहेको बताए । उनले आफू पनि त्यस प्रक्रियामा सहभागी हुन चाहेको स्पष्ट पारे । उनले भने, “चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ । मिडिया क्षेत्रको प्रतिनिधित्व हुने गरी संसद् र सरकारमा उपस्थिति होस् भन्ने मेरो अपेक्षा हो ।”
मन्त्री खरेलले सरकारले निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउँदै चुनावको तयारी तीव्र रूपमा अगाडि बढिरहेको जानकारी दिए । साथै उनले आगामी निर्वाचनमा परिवर्तनको चाहनाअनुसार सक्षम, योग्य र जिम्मेवार व्यक्तिहरूलाई नेतृत्वमा पुर्याउन सबैलाई आग्रह गरे ।
उनका अनुसार आगामी निर्वाचन लोकतन्त्रलाई थप सुदृढ बनाउने अवसर भएकाले मतदाताले विवेकपूर्ण निर्णय लिनु आवश्यक छ ।


