३१ जेष्ठ २०८३, आइतबार 1781446547
Banner

कांग्रेस केन्द्रीय समिति बैठकः एकता कायम गर्दै निर्वाचनमा केन्द्रित हुन अपिल

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र एकता, सद्भाव र सहकार्य कायम गर्दै आगामी दिनमा अघि बढ्ने निर्णय गरेको छ।

शनिबार काठमाडौँमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता र आपसी सहकार्यबाटै निर्वाचनलगायतका चुनौती सामना गर्न सकिने निष्कर्ष निकालेको हो।

यसै आधारमा देशभरका नेता तथा कार्यकर्तालाई एकता र सद्भाव कायम गर्दै अघि बढ्न अपिल गर्ने निर्णय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुर्‍याएको योगदान र दिएको नेतृत्वको उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णयसमेत गरेको छ। साथै, आगामी दिनमा पनि देउवासहित अग्रज नेताहरूको अभिभावकत्व पार्टीमा रहिरहने विश्वास बैठकले व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।

उनका अनुसार अब पार्टी सम्पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा जुट्नेछ। उम्मेदवारी (टिकट) वितरणको प्रक्रिया संसदीय बोर्डमार्फत अघि बढाइने पनि उनले जानकारी दिए।

प्रवक्ता चालिसेले पार्टीले विधान र संविधानअनुसार आधिकारिकता प्राप्त गरिसकेको उल्लेख गर्दै अब भिन्न मत राखिरहन आवश्यक नरहेको स्पष्ट पारे।