काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह आज आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पार्टी कार्यालय घण्टीघर पुगे ।
वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा कार्यकर्ताका बीच पुगेका बालेनले कार्यालय प्रांगणमा रहेको घण्टी बजाएर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याललगायत शीर्ष नेताहरू प्रांगणमै उपस्थित थिए ।
घण्टी बजाएपछि बालेनले रास्वपामा आफ्नो पदभार ग्रहण गरे । तर पदभार ग्रहणलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिएका छन् । उनी कार्यालयमा १५ मिनेटभन्दा बढी समय बसेनन् ।
पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग सातबुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि पार्टी प्रवेश गरेका बालेन आज पहिलो पटक औपचारिक रूपमा पार्टी कार्यालय पुगेका हुन् ।
रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका क्रममा बालेनले आजैदेखि लागू हुने गरी उपमेयर सुनिता डङ्गोलसमक्ष काठमाडौं महानगरको मेयर पदबाट राजीनामा बुझाएका थिए ।
बालेन आजै साँझ जनकपुर जाने कार्यक्रम रहेको छ । जनकपुरमा भोलि सोमबार रास्वपाले आयोजना गर्ने कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुनेछन् ।


