काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । जबराले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका कामरु नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताए ।
मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि राजतन्त्रको पुनःस्थापना जरुरी रहेको बताए । उनले भने, ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ । ठूला पार्टीहरुबाट चलाइएको, ठूला पार्टीहरुबाट सञ्चालन गरिएको धेरै कुरा देख्यौँ । अन्त्यमा गएर भ्रष्टाचारमा लुप्त भए । मुलुकलाई दक्षताका साथ चलाउने उनीहरुमा क्षमता छैन । यो परिस्थितिलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटा ठूलो फेरबदल चाहिन्छ । त्यसबारे सचेत गर्न राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई चुनावमा विजयी गर्न यो मञ्चबाट आह्वान गर्न चाहन्छु ।’ उनले काठमाडौँ ५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गरे ।


