काठमाडौँ : पूर्वमन्त्री जितेन्द्रनारायण देवले राजनीतिक जीवनमा चौथोपटक नेकपा एमाले परित्याग गरेका छन् । सोमबार सप्तरीमा पत्रकार सम्मेलन गरेर देवले छोटो समयको एमालेसँगको पुनर्मिलन फेरि परित्याग गरेका हुन् ।
तत्कालीन नेकपा मानन्धर समूहबाट राजनीति थालेका जितेन्द्र देव नेकपा एमालेको केन्द्रीय सदस्य,नागरिकता जाँचबुझ आयोगको अध्यक्षजस्ता जिम्मेवारीमा रहेका थिए ।
एमाले फुटेर माले बनेपछि वामदेव गौतमसँगै लागेका देव २०५८ मा एमालेमा फर्किएका थिए । २०५९ सालमा सातौं महाधिवेशनबाट पराजित भएपछि केही समय उनी एमालेबाट राजीनामा दिएर बाहिरिएका थिए ।
एमालेमा फेरि क्रियाशील भएको केही समयमै २०६३ सालको मधेश आन्दोलनपछि एमाले छाडेर मधेशी जनअधिकार फोरममा लागेका थिए ।
फोरम विभाजनबाट बनेका लोकतान्त्रिक फोरममा समेत लागेर सांसद बनेका उनी २०७४ मा नेपाली कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभाको ६ वर्षे कार्यकाल सकिएपछि एमालेमा पुनः प्रवेश गरेका थिए ।
उनी एमाले प्रवेश गरेको एक वर्ष नपुग्दै फेरि पार्टी छाडेर बाहिरिनुमा पार्टीभित्रमा व्यक्तिवाद हाबी रहेको बताएका छन् । उनले ४० वर्ष लामो राजनीतिक जीवनमा नेकपा मानन्धर,नेकपा एमाले,नेकपा माले, मधेशी जनअधिकार फोरम,लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस पार्टीमा आफूलाई प्रवेश गराएका छन् ।


