काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले आज काठमाडौंको टोखा–८ स्थित पारिजात पार्टी प्यालेसमा आफ्नो १०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभा कम्पनीका अध्यक्ष भरत बहादुर खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो।

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरू छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएका छन्। साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दै दर्ता गरिएको मुख्य कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ।
उक्त सभामा कम्पनीले सर्वसाधारणका लागि ३६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने प्रक्रिया तीव्र बनाएको जानकारी दिएको छ। यसअघि नै पारित भएको यो प्रस्ताव हाल नेपाल धितोपत्र बोर्ड (सेबोन)को अनुमोदन प्रक्रियामा रहेको र आवश्यक कारवाहीहरू अघि बढाइरहेको जनाइएको छ।
त्यस्तै, साधारणसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।
भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन १४.५ मेगावाट क्षमताको माथिल्लो इर्खुवा जलविद्युत आयोजना अब अन्तिम चरणमा पुगेको छ। कम्पनीले यो आयोजना निकट भविष्यमा सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान गर्ने लक्ष्य लिएको जनाएको छ।
साधारणसभामा सञ्चालक समिति सदस्यहरू, व्यवस्थापन टोली र संस्थापक सेयरधनीहरूको महत्वपूर्ण सहभागिता रहेको थियो।


