काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा कुल चार अर्ब ७९ करोड दुई लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । बिहीबार (माघ २९) कम्पनीद्वारा सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरणानुसार, यो अवधिको खर्च चार अर्ब १९ करोड नौ लाख एक हजार ८१ रुपैयाँ छ ।
कम्पनीका अनुसार, ३२ करोड ९८ लाख ४८ हजार ३४५ रुपैयाँ सञ्चालन नाफा छ । कम्पनीले १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अवधिमा उक्त कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर ४९०.५४ रुपैयाँ पुगेको जनाइएको छ ।
नेपालको ठूलो रोजगारदाता र निर्यातमूलक यो कम्पनीले हालै मात्र प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको थियो । त्यसपछि कम्पनीकोे सेयर पुँजी एक अर्ब ९० करोड रुपैयाँ छ ।
कम्पनीमा २१ हजार ८०७ सेयरधनी रहेका छन् । रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरणको प्रक्रियामा छ ।
तीन दशकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीका दुहबी र खनारस्थित उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात गर्ने गरिएको छ ।
यो कम्पनीको उत्पादन वार्षिक पाँच करोड अमेरिकी डलरबराबरको निर्यात गरिन्छ । कम्पनीमा चार हजारभन्दा बढी जनशक्ति कार्यरत छन् । उनीहरूमध्ये करिब एक हजार ३०० महिला रहेका कम्पनीले जनाएको छ ।


