काठमाडौँ। आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइँदै छ । पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ ।

विशेषगरी युवायुवतीबिच लोकप्रिय बनेको यस दिन प्रेमीप्रेमिकाले एकअर्कालाई फूल, कार्ड, चकलेटलगायत उपहार आदानप्रदान गर्ने तथा आफ्ना भावना अभिव्यक्त गर्ने चलन बढ्दो छ । सामाजिक सञ्जालको प्रभावसँगै भ्यालेन्टाइन डे मनाउने शैली पनि आधुनिक र आकर्षक बन्दै गएको देखिन्छ ।
‘भ्यालेन्टाइन डे’ मनाउने परम्परा तेस्रो शताब्दीका सन्त भ्यालेन्टाइनसँग जोडिएको विश्वास गरिन्छ । रोमन शासक क्लोडियसले सैनिकलाई विवाह गर्न रोक लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गुप्त रूपमा विवाह गराइदिएका थिए । यही कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । उनको बलिदान र प्रेमप्रतिको समर्पणको सम्झनामा यो दिवस मनाउने परम्परा सुरु भएको मानिन्छ ।
नेपालमा पनि भ्यालेन्टाइन डे अघि एक सातासम्म विभिन्न ‘डे’ हरू मनाउने चलन बढ्दै गएको छ। फेब्रुअरी ७ देखि सुरु हुने यस सप्ताहमा ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘किस डे’ र हग डे हुँदै अन्ततः ‘भ्यालेन्टाइन डे’ मनाइन्छ ।


