काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका निम्ति शनिबार (फागुन २) १३ बुँदे अनुरोध जारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए । उनका अनुसार, चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको छ ।

पशुपति क्षेत्रको मापदण्डबमोजिम प्लास्टिकका झोला, कप, प्लेटलगायत सामग्रीको प्रयोग निषेध गरिएको छ । निषेधित सामानको प्रयोग नगर्न, दूध, गंगाजललगायत सामग्रीका निम्ति फुट्ने काँच (सिसा)का भाँडा प्रयोग नगर्न पनि अनुरोध गरिएको एसपी भट्टराईले बताए ।
प्रहरीले भक्तजनको सुविधाका निम्ति तोकिएको कक्षमा जुत्ताचप्पल (दर्शनमार्गअनुसार छुट्टाछुट्टै स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था) राखेर मात्र मन्दिर प्रवेश गर्न, पशुपतिनाथको दर्शन गरिसकेपछि छिटोभन्दा छिटो मन्दिर परिसरबाहिर निस्किई घुइँचो हुन नदिन आवश्यक सहयोग र समन्वय गर्न पनि अनुरोध गरेको छ ।
यस्तै, पशुपतिनाथ मन्दिर प्रांगणमा सबै प्रकारका मोबाइल फोन, क्यामेरालगायत सामग्रीको प्रयोग निषेध गरिएको छ । छालाका सामान, जुत्ताचप्पल, ज्याकेट, कम्मरपेटी लगाएर मन्दिरमा प्रवेश पनि निषेध गरिएकाले त्यस्ता सामान तोकिएको सुरक्षित स्थानमा राखेर दर्शन गर्न भनिएको छ ।
प्रहरीले पाकेटमारादेखि सावधान रहन र आफ्नो सामानको सुरक्षा आफैँ गर्न, कुनै पनि तीर्थयात्री अस्वस्थ भएमा स्वास्थ्य शिविरमा सम्पर्क राख्न, सामान वा व्यक्ति हराएमा वा समस्या आइपरेमा तुरुन्त प्रहरी शिविर वा खोजखबर कक्षमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।
मन्दिर र मेला क्षेत्रलाई स्वच्छ र सफा राख्न जथाभावी फोहोर नगर्न, निर्दिष्ट स्थानमा रहेका शौचालयको प्रयोग गर्न, शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सहज दर्शनका निम्ति सहयोग गर्न, कुनै प्रकारको विशेष टिकट वा पासको व्यवस्था नगरिएकाले पंक्तिबद्ध भएर दर्शन गर्न तथा अरूको अधिकारको हनन हुने व्यवहार नगर्न अनुरोध गरिएको एसपी भट्टराईले जानकारी दिए । रासस


