काठमाडौं । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित बनाउन सबैलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।
सोमबार राजधानीमा गरेको कार्यक्रममा अरु सूरक्षा निकायभन्दा नेपाली सेना अगाडि आएर भूमिका खेल्ने विषय सत्य नभएको समेत बताएका छन् ।
डा. शिवाकोटीले निर्वाचर्नको लागि जम्मा ९ दिनमात्रै बाँकी रहँदा कतिपयले चुनाव निर्धारित समयमा हुँदैन भनेर भ्रम फैलाउन खोजेकोप्रति समितिको ध्यानाकर्षण भएको जनाएका छन् ।
‘निर्वाचानको सम्पूर्ण तयारी पुगिसकेको र नहुनुपर्ने कुनै ठूलो कारण नभएकाले कोही कसैको भ्रममा पर्नु हुँदैन,’ शिवाकोटीले भने । सरकारले सम्भावित खतरालाई मध्यनजर गरेर निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरे पनि सेना नै अगाडि आउने कुरा सत्य नरहेको उनको भनाई छ ।
‘कतिपयले सेनालाई निर्वाचनमा प्रमुख भूमिकामा ल्याउने, सेनाको बलमा निर्वाचनको परिणाम निश्चित व्यक्ति र पार्टीको पक्षमा ‘फिक्सिङ’को षड्यन्त्र भनेर हल्ला गर्नु निर्वाचन विरोधी ‘प्रोभोकेसन’ मात्रै हो,’ सिवाकोटीले भने ।
जेनजी विद्रोहपछि हुन लगेको निर्वाचनप्रति अन्तर्राष्ट्रिय निकायको व्यापक चासो रहे पनि सोचेजतिका अन्तर्राष्ट्रिय पर्यवेक्षकको उपस्थिति नहुने संकेत रहेको उनको भनाई छ ।


