काठमाडौँ । विशेष अदालतले कास्कीको पोखरा महानगरपालिका वडा नं २७ का सचिवसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
सोमबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पोखरा महानगरपालिका वडा २७ का सचिव प्रभात लामिछाने र दिनेश लामिछानेलाई सफाइ दिएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं। २७ का सचिव प्रभात लामिछानेले सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यस मुद्दामा घुस रकम दिएको भनिएका दिनेश लामिछानेसमेत प्रतिवादी थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध २०८१ चैत १४ गते घुस लिने र दिने दुवैलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो ।
वडा सचिव लामिछानेले सेवाग्राही दिनेश दयालु लामिछानेको नाममा जन्मदर्ता बनाएको, तर नयाँमा दिनेश लामिछाने भनी नाम सच्याएको भेटिएको थियो ।
यसरी नाम फरक बनाएबापत २ लाख ५० हजार रुपैयाँ वडा सचिवले आफ्नो बैंक खातामा राख्न लगाएको अभियोग अख्तियारले लगाएको थियो ।


