क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले बाल यौन दुर्व्यवहार भोगेर आएकी अधिकारकर्मी ग्रेस टेमसँग माफी मागेका छन् । अल्बानेजले टेमलाई ‘गाह्रो’ भनेर टिप्पणी गरेपछि विवाद चर्किएको थियो ।
प्रधानमन्त्री अल्बानेजले आफूले टेमले भोगेको कठिनाइलाई लक्षित गर्दै सो शब्द प्रयोग गरेको तर यसको गलत अर्थ लागेको भन्दै माफी मागेका हुन् ।
एक शब्दमा प्रतिक्रिया दिने खेलका क्रममा अल्बानेजले सन् २०२१ की ‘अस्ट्रेलियन अफ दि इयर’ टेमलाई ‘डिफिकल्ट’ भनेका थिए । यसप्रति प्रतिक्रिया दिँदै ३१ वर्षीया टेमले यो शब्द भनेको नमान्ने महिलालाई लक्षित गर्ने ‘मिसोजिनिस्टको कोड’ भएको टिप्पणी गरेकी छन् । तर इतिहासले यस्ता महिलालाई साहसी भनेर चिन्ने उनको भनाइ थियो ।
विवाद बढेपछि प्रधानमन्त्री अल्बानेजले स्पष्टीकरण दिँदै आफूले टेमले जीवनमा भोगेका कठिनाइतर्फ सङ्केत गर्न खोजेको बताएका छन् ।
यदि कुनै गलत बुझाइ भएको भए म माफी चाहन्छु,’ उनले भने । टेमले अत्यन्त कठिन जीवन भोगेकी तर त्यसलाई अरूको हितमा रूपान्तरण गरेकोमा उनलाई ठुलो श्रेय जाने अल्बानेजले बताएका छन् । तर टेमले प्रधानमन्त्रीको माफी अस्वीकार गर्दै इन्स्टाग्राममा तीखो प्रतिक्रिया दिएकी छन् ।
मलाई निच नदेखाउनुहोस्, बुढो मान्छे । हामी सबैलाई थाहा छ तपाईँले के भन्न खोज्नुभएको थियो’ उनले लेखेकी छन् । यसैबिच, अस्ट्रेलियन ग्रीन्सकी नेतृ लारिसा वाटर्सले पनि अल्बानेजको टिप्पणी पूर्णतः अनुचित भएको बताएकी छन् । ‘महिलालाई ‘अप्ठ्यारो’ भन्ने लेबल लगाएर हामीलाई चुप गराउन सकिँदैन । अर्को पटक ‘अडिग’, ‘योद्धा’ वा ‘साहसी’ भन्नुहोस्, प्रधानमन्त्रीज्यू’ उनले भनेकी छन् ।
टेम १५ वर्षको उमेरमा आफ्नै शिक्षकद्वारा यौन शोषणमा परेकी थिइन् । पछि उनले तास्मानियामा पीडितहरूलाई आफ्नो अनुभव सार्वजनिक गर्न रोक लगाउने कानुन उल्ट्याउन महत्त्वपूर्ण अभियान चलाइन् ।
उनको यस प्रयासका कारण २०२१ मा ‘अस्ट्रेलियन अफ दि इयर’ घोषित गरिएको थियो । पछिल्लो समय टेम प्रो–प्यालेस्टाइन र्यालीमा ‘इन्तिफादालाई विश्वव्यापीकरण गर’ भन्ने अभिव्यक्तिका कारण पनि आलोचनामा परेकी थिइन् ।
केहीले यसलाई हिंसात्मक आह्वान भनेका छन् भने समर्थकहरूले यसलाई शान्तिपूर्ण प्रतिरोधको सन्देशका रूपमा व्याख्या गरेका छन् ।


