काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजीतिक दलसँग समीकरण नहुने स्पष्ट पारेका छन । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा आफ्नो चुनावी एजेण्डसहित एक सातापछि हुने निर्वाचनमा सहभागी हुने बताए ।
“यो निर्वाचनमा नेकपाले कुनै पनि राजनीतिक दलसँग समीकरण गर्दैन, आफ्नै ‘एजेण्डा’, पार्टी सङ्गठन र जनताको साथ र सहयोगमा निर्वाचनमा जाँदैछौँ”, संयोजक दाहालले भने । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये बागलुङको क्षेत्र नं १ मा बाहेक अन्यत्र तालमेल नभएको जानकारी दिँदै उनले अयन्त्र चुनावी तालमेल गर्ने पार्टीको नीति नरहेको स्पष्ट पारे ।
नेकपाले विगतको कमीकमजोरी सच्याएर जनताको चाहना र भावनाअनुसार सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने उल्लेख गर्दै संयोजक दाहालले राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा नेकपा लाग्ने भएकाले जनताले मत दिने विश्वास व्यक्त गरे । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी संयन्त्र र आमजनताको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आसन्न निर्वाचनले मुलुकलाई निकास दिने विश्वास व्यक्त गरे ।
संयोजक दाहालले जेनजी युवाको भावनाअनुसार संविधान संशोधन गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिन सबै राजनीतिक दल, युवापुस्तालगायत सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्नेका जोड दिए ।


