१४ श्रावण २०८३, बिहिबार 1785468100
Banner

विदेशीलाई नागरिकता दिने विषय राष्ट्रघाती : प्रभु साह

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विदेशीलाई नागरिकता दिने विषय घोषणापत्रमा उल्लेख गर्ने दलहरूले तत्काल माफी माग्नुपर्ने बताएका छन्। 
शनिबार सिम्रौनगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साहले २१ फागुनको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरिएका घोषणापत्रमा विदेशीलाई नागरिकता दिने प्रावधान राखिएको आरोप लगाए। उनले यस्तो प्रावधान राष्ट्रघाती कदम भएको दाबी गर्दै कडा विरोध जनाए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो घोषणापत्रमा गैरआवासीय नेपालीको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिने उल्लेख गरेको छ। साथै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झट अन्त्य गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै नेपाली कांग्रेस ले पनि ‘नेपाली डायस्पोरा : अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकअन्तर्गत ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई आत्मसात गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।