काठमाडौं । ईरानद्वारा संयुक्त अरब इमिरेट्स (यूएई) मा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्र भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिकको ज्यान गएको जनाइएको छ। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्।

यूएईको रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण तयारी अवस्थामा रहेको जनाउँदै नागरिक र बासिन्दाको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरूले आवश्यक सबै कदम चालिरहेका छन्।
यद्यपि मृत्यु भएका तीन जनाको ज्यान कहाँ र कसरी गयो भन्नेबारे विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
यसैबीच, यूएईको राष्ट्रिय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार हाल देशको अवस्था सामान्य रहेको बताइएको छ। अधिकारीहरूले सर्वसाधारणलाई अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेका छन्।
नेपाली नागरिकको मृत्यु सम्बन्धमा अबुधाबीस्थित नेपाली दूतावासले अनौपचारिक जानकारी प्राप्त भएको जनाएको भए पनि औपचारिक पुष्टि भने गरेको छैन।


