जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की नेतृ तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उनले धनुषाको समग्र विकासका लागि १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् ।
प्रतिबद्धता पत्रमा नेतृ महतोले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेकी छन् ।
उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, जनकपुरधामलाई विश्वकै प्रमुख वैवाहिक गन्तव्यका रूपमा स्थापित गर्ने तथा ऐतिहासिक बाह्रबिघा क्षेत्रको सौन्दर्यीकरण गर्नेमा जोड दिएकी छन् ।
त्यस्तै, उनले जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस र राजर्षि जनक विश्वविद्यालयको स्तरोन्नति, आधारभूत तथा माध्यमिक विद्यालयहरूको पूर्वाधार विकास, निःशुल्क तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेकि छन् ।
नेतृ महतोले जनकपुरधामको प्रादेशिक अस्पतालको आधुनिकीकरण गरी प्रत्येक नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने योजना अघि सारेकी छन् ।
त्यस्तै उनले उद्योग क्रान्तिमार्फत रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको बताइन । उद्योग स्थापना गर्न सहुलियत ब्याजदरमा ऋण सुविधा, साना कृषक तथा व्यवसायीका लागि लघु बीमा, महिला, युवा, किसान र साना उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराउने उनले प्रतिबद्धता जनाइन । उनले धनुषामा औद्योगिक कोरिडोर निर्माण र बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाइन ।
नेतृ महतोले सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै सबै गाउँ बस्तीलाई बजारसँग सडकमार्फत जोड्ने, रणनीतिक सडक सञ्जालसँग स्थानीय सडकको कनेक्टिभिटी सुदृढ गर्ने तथा १५ दिने मिथिला माध्यमिकी परिक्रमाको मार्ग स्तरोन्नति र विश्रामस्थलको सौन्दर्यीकरण गर्ने योजना रहेको बताइन ।
उनले जनकपुरधामको वरिपरि काठमान्डौको भन्दा लामो चक्रपथ निर्माण, योजनाबद्ध बस्ती विस्तार, यातायात व्यवस्थापन सुधार तथा सफा, सुन्दर र आधुनिक महानगर निर्माण गर्ने लक्ष्यका साथ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
युवाहरुका लागि उनले ‘खेलमा जोश, युवामा होस’ नारासहित रामजानकी बहुउद्देश्यीय रंगशाला र शहीद दुर्गानन्द झा रंगशाला सञ्चालनमा ल्याउने, खेल पर्यटन प्रवद्र्धन गर्ने तथा प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने योजना प्रतिबद्धता पत्रमा समेटेकी छन् ।
नेतृ महतोले ‘सीमा होइन, सेतु’ नारामार्फत सीमावर्ती क्षेत्रको आर्थिक र सामाजिक सहकार्य सुदृढ गर्ने, ‘अन्नदाता हास्यो, देश जाग्यो’अभियानअन्तर्गत कृषकको आय वृद्धि गर्ने तथा ‘कसैलाई पछाडि नछाड्ने’समावेशी विकासको प्रतिबद्धता जाहेर गरेकी छन् ।


