दमक । नेकापा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई ‘मियोबिनाको दाइँ’ हुनबाट रोक्न नेकपा (एमाले)को जित आवश्यक रहेको बताएका छन् ।
झापा–५ को दमकमा आज प्रेस चौतारीले गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकसित चुनौतीहरुको सामना गर्नसक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको बताए ।
चुनावको मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उनले त्यस्ता पात्रहरुका कारण देश मियोबिनाको देश हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको बताए ।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखिएको भन्दै भट्टराईले उनीहरुमा जिते छाती पिट्ने र हारे निराश हुने बाहेक कुनै उद्देश्य नरहेको उनको दाबी छ । जेनजी आन्दोलनको क्षतिको दोष जबर्जस्ती एमालेतर्फ थुपार्न खोजिएको भन्दै उनले सो आन्दोलनमा देश ध्वस्त बनाउने कार्यमा संलग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न पनि गरे ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनको जस्तै फराकिलो अन्तरले झापा–५ बाट एमाले अध्यक्ष ओलीको जित हुने बताए ।
एमाले अध्यक्ष ओलीलाई झापा–५ ले निरन्तर उम्मेदवार पाउनु यस क्षेत्रका मतदाताको लागि अवसर समेत रहेको उनले बताए । क्षेत्रका चुनाव प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारीले यहाँ सशक्त रुपमा भएको जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित गरेको बताए ।


