बुटवल । रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गरेका छन् ।
विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर सङ्गम रहेको लुम्बिनी प्रदेशमा यस्ता पर्वहरूले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले मौलिक कला, संस्कृति, परम्परा, भेसभुसा र सांस्कृतिक अभ्यासहरूको संरक्षण तथा प्रवर्द्धनबाट मात्र दिगो समृद्धिको आधार निर्माण गर्न सकिने बताए । सांस्कृतिक सम्पदालाई पर्यटन, उद्यम र स्थानीय उत्पादनसँग जोड्दै आर्थिक अवसर विस्तार गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले आफ्नो पहिचान जोगाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सांस्कृतिक विविधतामै प्रदेशको शक्ति निहित रहेको उल्लेख गर्दै उनले होलीजस्ता पर्वहरू सभ्य, मर्यादित र सकारात्मक सन्देश दिने गरी मनाउन आग्रह गरे ।
पर्व मनाउने नाममा कुनै पनि प्रकारको विकृति, विसङ्गति र अवाञ्छित गतिविधिलाई प्रश्रय दिन नहुने स्पष्ट पार्दै उहाँले जबरजस्ती रङ्ग दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा अरूको स्वतन्त्रता र सुरक्षामा असर पर्ने गतिविधि अस्वीकार्य हुने बताए । सबैले जिम्मेवार र अनुशासित व्यवहार गर्दै सुरक्षित वातावरणमा पर्व मनाउन उनले आग्रह गरे । होली पर्वले आपसी विश्वास, सद्भाव र सहकार्यको भावना अझ प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।


