काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा तनाव बढेपछि त्यहाँ रहेका नेपालीको अवस्थासम्बन्धी सूचना संकलन गर्न वेबसाइट सञ्चालनमा ल्याएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सो वेबसाइट मंगलबार (फागुन १९)बाट सञ्चालनमा ल्याएको हो ।
मध्यपूर्वमा रहेका नेपालीले मंगलबारबाट सञ्चालनमा आएको वेबसाइट https://legal.nepalconsular.gov.np/urgent-rescue मा गएर आफ्नो अवस्था र विवरण राख्न सक्नेछन् । यही विवरणको आधारमा त्यहाँ रहेका नेपालीलाई आपत्कालीन उद्धार गर्नुपरेमा योजना बनाइने छ ।
अमेरिका/इजरायल र इरानबीचको युद्ध चर्किएपछि खाडी तथा मध्यपूर्व क्षेत्रमा रहेका ठूलो संख्यामा नेपाली त्रासमा रहेका छन् ।
इरानले मध्यपूर्वका युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, इजरायल, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य वेसहरूमा आक्रमण गरेपछि क्रास झन् बढेको छ । इरानको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्मा गोर्खाका एक युवकको मृत्यु भइसकेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, मध्यपूर्वमा १७ लाख २९ हजार २८८ नेपाली रहेका छन् । इरानमा ६, इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, यूएईमा लगभग सात लाख, लेबनानमा एक हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेको परराष्ट्रले जनाएको छ ।


