काठमाडौं । बागलुङ–२ अन्तर्गत गलकोट नगरपालिका–१० स्थित एक मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको छ।
निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीका अनुसार मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गरिएको अभिव्यक्ति र गतिविधिले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा असर पार्न सक्ने देखिएकाले उनलाई पदबाट हटाउने निर्णय गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयले औपचारिक पत्रमार्फत जिम्मेवारी खोसेको जानकारी गराउँदै गैरेलाई मतपत्र र अन्य मतदान सामग्री तत्काल सुरक्षा निकायलाई बुझाउन निर्देशन दिएको छ। सो जानकारी सम्बन्धित निकायहरूलाई पनि गराइएको छ। उनको स्थानमा भुवनबहादुर कुँवरलाई नयाँ मतदान अधिकृतका रूपमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ।


