काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा राधिका गुरुङ (टिका) निर्विरोध निर्वाचित भएकी छन् ।

एनआरएनएको १२ औँ महाधिवेशन यही मार्च १४–१६ मा काठमाडौँको होटल सोल्टीमा हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले समुद्घाटन गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थियो ।
महिला उपाध्यक्ष पदमा गुरुङको एक्लो उम्मेदवारी परेको हो । गुरुङले यसअघि एनआरएनएको महिला सचिवको जिम्मेवारी पूरा गरिसकेकी छन् । १०औँ र ११ औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गरेकी हुन् ।
झन्डै ३ दशकदेखि हङकङमा बस्दै आएकी गुरुङले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष भई काम गरिसकेकी छन् । उनले एनआरएनएको एसिया–प्यासिफिक संयोजकको जिम्मेवारी पनि पूरा गरिसकेकी छन् । दुई दशकभन्दा बढी समयदेखि एनआरएनएमा सक्रिय गुरुङ हङकङमा स्थापित व्यवसायी र सामाजिक अभियन्ता हुन् ।
उनले समुदायको एकता, महिला हक–अधिकार र सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भूमिका निर्वाह गर्दै आएकी छन् ।


