काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जीवित रहेको तर गम्भीर घाइते भएको दाबी गरेका छन् । फक्स न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले यस्तो बताएका हुन् । यसअघि बेलायती पत्रिका द सनको एक रिपोर्टले फेब्रुअरी २८ मा भएको आक्रमणमा मुज्तबा खामेनी गम्भीर घाइते भएको दाबी गरेको थियो । रिपोर्टका अनुसार, उनलाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपरेको थियो । उनको पेटमा पनि गम्भीर चोट लागेको थियो । रिपोर्टमा उनी कोमामा रहेको र तेहरानमा कडा सुरक्षा व्यवस्थामा उपचार भइरहेको पनि उल्लेख गरिएको छ ।
इरानी अधिकारीहरूले आक्रमणमा मोज्तबा घाइते भएको, सुरक्षित रहेको र विस्तारै निको हुँदै गरेको बताएका छन् । यसअघि बिहीबार इरानी सरकारी टिभीले सर्वोच्च नेता मोज्तबाको एक वक्तव्य पनि प्रसारण गरको थियो । यो वक्तव्य खामेनी आफैंले नभई एक समाचार प्रस्तोताले पढेका थिए । त्यसमा इरानले युद्धमा मारिएकाहरूको बदला लिने र अमेरिकाले आफ्नो सैन्य अड्डा बन्द नगरेमा आक्रमण जारी रहने उल्लेख गरिएको थियो ।


