काठमाडौं । रास्वपाका सांसद सागर ढकालले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा नियुक्ति गरेको निर्णय सच्याउन आग्रह गरेका छन् । उक्त निर्णयको चौतर्फी आलोचना भइरहेका बेला ढकालले प्रधानमन्त्री कार्कीलाई गल्ती सच्याएर उदारता देखाउन आग्रह गरेका हुन् ।
‘आमा, जतिसुकै ठूलो महामानव भए पनि गल्ती हुन्छन् । हजुरले पनि देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ । जाँदाजाँदै हिजो गरेका निर्णयमा भएको गल्ती सच्याउनु हुनेछ भन्ने कामना गरेका छौँ । न कुनै विज्ञता, न अनुभव – मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव; यत्तिको आधारमा प्रकृति संरक्षण कोष जस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ? त्यसमाथि अब हुने प्रधानमन्त्रीले देश कायापलट गर्छु, विज्ञ मान्छे राख्छु भन्दा पनि पहिलेको नजिर अनुसार गाह्रो छ ।
५ वर्षभरि नै हजुरको यो अन्तिम निर्णय बालेन, रवि र हाम्रो लागि तगारो पो हुने भयो । हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ । आशा छ, हजुरले निर्णय सच्याएर उदारता देखाउनुहुनेछ ।’, ढकालले फेसबुकमा लेखेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।


