चैत २ गते । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार आइतबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ । तलाउको वरिपरिको वनजङ्गल, लेकको टुप्पोमा समथर भूमि, रुखको हाँगामा बसेर चिरबिर, चिचुङ्का साथ सुनिने चराको मिठो सङ्गीत
सुर्खेतबाट रारा घुम्न आएका आन्तरिक पर्यटक बासुुदेव देवकोटाका अनुसार रारामा हिउँ पर्दा स्वदेशी तथा विदेशी पर्यटकहरू हिउँ खेलेर रमाएका छन् । रारा साच्चै स्वर्गको एक टुक्राजस्तै भएको महसुस लागेको उहाँले बताउनुभयो ।

रारामा यो वर्षको दोस्रो हिमपात रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख ऋषिकेश यादवले बताउनुभयो । उहाँका अनुसार करिब ५ इन्च हिउँ जमेको छ । हिउँ पर्नेक्रम अझै जारी छ ।
गएको पुस महिनामा पनि रारामा २ इन्च हिउँ परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन महिनाको मसान्तसम्म दस हजार आन्तरिक र विदेशी पर्यटक रारामा घुम्न आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चैतको महिनामा हिमपात हुँदा जिल्लामा चिसोले स्थानीय जनजीवन भने प्रभावित भएको छ । गाउँदेखि सदरमुकामको बजारसम्मका बासिन्दा आगो तापेर दिन कटाइरहेका छन् । रारा तालभन्दा एक घण्टा माथिको मुर्मा गाउँमा भने दुई फिट हिउँ जमेको छ । यो ठाउँ समुद्री सतहदेखि ३ हजार २ सय मिटरको उचाइमा पर्दछ ।

हिउँ परेपछि हिउँदे बाली सप्रने भएकाले जिल्लाका सबै कृषकहरू खुसी भए पनि गाई बस्तु चराउन, घाँसदाउरा ल्याउन कठिनाइ भएको छायानाथ रारा नगरपालिका–८ का स्थानीय नन्दसिंह रोकायाले बताउनुभयो ।


