काठमाडौं । कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधेश्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटेलको काममा लगाई दिन्छु भनी पीडित महिलालाई होटेलमा आउने पुरुषबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । साथै, प्रहरीले चार जना पीडितलाई उद्धार गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


