पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि दुर्घटनामा अर्घाखाँचीको शीतगङ्गा–४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक तथा रुपन्देहीको देवदह–२ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए भने गम्भीर घाइते राजन चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइएको थियो । त्यहाँ उपचारकै क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।


