काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दुई तिहाइको सरकारको दिनगन्ती सुरु भइसकेको चेतावनी दिएका छन् । पूर्वाग्रहणपूर्ण आफ्ना अध्यक्षलाई पक्राउ गरिएको शान्तिपूर्ण प्रदर्शनमा दमन गरिएको आरोप उनले लगाएका हुन् । ’पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ । तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ’, उनले भनेका छन्, ’के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो ? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ ?’
हिजो सिंहदरबार र सर्वोच्चमा आगजनी गर्नेले आज शान्तिपूर्ण आन्दोलनमा दमन गरेको उनको भनाइ छ । ’हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन ग¥यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन् ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला।
दुईतिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर। यस्तै अवस्था रहे भोलिको प्रदर्शन झन् सशक्त हुने चेतावनी उनले दिएका छन् । ’यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ ।
साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ, बस्नेतले लेखेका छन् । प्रहरीको लाठी प्रहारबाट एक कार्यकर्ता घाइते भएपछि बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।


