काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेपाली सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा ओर्लिएको छ। आज दिनभर कुल ३४१ वटा कम्पनीका ३ करोड १६ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भए हुँदा १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल २३७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ भने जम्मा २६ कम्पनीको मूल्य मात्र बढेको छ। ५ वटा कम्पनीको मूल्य भने स्थिर छ । बजार ओरालो लागे पनि चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ। यस्तै सुपर खुदी हाइड्रोपावरको मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै गुमाउनेमा सोलु हाइड्रोपावर रहेको छ, जसको मूल्य ७.७९ प्रतिशतले घटेको छ। त्यसैगरी युनिक नेपाल लघुवित्तको मूल्य ७.२३ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो।
यस कम्पनीको ६८ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै ङादी ग्रुप पावरको ४३ करोड ८१ लाख र शिवम सिमेन्टको ४३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। राजनीतिक वृत्तमा देखिएको अन्यौलता र सम्पत्ति शुद्धीकरण र छानबिनमा सरकारको अग्रसरतापछि बजारले नकारात्मक बाटो समातेको हो ।


