१६ असार २०८३, मंगलबार 1782879032
Banner

तीन करोड ८९ लाखसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको सुभारु कम्पनीको कारमा दुई प्लाष्टिकको बोरामा रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–८ का ४४ वर्षीय फूलबहादुर गुरुङ तथा चिनियाँ नागरिक ५० वर्षीय आउङ जाइकिङ, ४९ वर्षीय जान तो, ३१ वर्षीय मेङ युङ सुङ र २६ वर्षीय माउजैन हउ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले स्रोत नखुलेको रकम बोकेर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुबाट प्रहरीले रु एक हजार दरको ३६ हजार ४१३ थान, रु ५०० दरको पाँच हजार एक थान, रु १०० दरको दुई थान, रु २० दरको एक थान रकम बरामद गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोक पठाएको प्रवक्ता मैनालीले बताउनुभयो ।