१० श्रावण २०८३, आइतबार 1785055340
Banner

म कांग्रेसको कुनै समूहमा छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफू पार्टीभित्रको कुनै समूहमा नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोइरालाले आफ्नो एक मात्र इच्छा भनेको पार्टीलाई एकढिक्का बनाउनु रहेको बताए ।

उनले पार्टीमा विशेष महाधिवेशनको विषय आफूले उठाएको पनि उल्लेख गरे । तर त्यो विशेष महाधिवेशन केन्द्रीय समितिले नै गर्नुपर्छ भनेर आफूले भनेको कोइरालाको भनाइ छ ।

‘विशेष अधिवेशनको कुरा गर्दा मैले नै हो विशेष अधिवेशनमा जानुपर्छ भनेर कुरा उठाएको । तर मैले त्यसमा एउटा शब्द अझ जोडेको छु केन्द्रीय समितिले विशेष अधिवेशन गरौं भनेको छु’, कोइरालाले भने, ‘केन्द्रीय समितिले विशेष अधिवेशन गरेन भने हामी अप्ठेरो परिस्थितिमा पुग्छौं भनेर मैले पटक पटक सबै साथीहरूलाई भनेकै हो । त्यो स्वीकार्य भएन । त्यो स्वीकार्य नभएपछि विशेष अधिवेशन भयो ।’

उनले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति आएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र त्यो कहिले टुंगिन्छ भन्ने भन्न नसकिने बताए ।

‘गगनजी अहिले विशेष अधिवेशनबाट सभापति हुनुभयो । ठिकै छ त्यसमा केही छैन । यसविरुद्ध शेरबहादुरजीले र पूर्णबहादुरजीले सर्वोच्चमा मुद्दा दिनुभएको छ । मुद्दाको छिनोफानो भोलिदेखि होला । कति दिन लाग्ने हो । समय लाग्छ लाग्दैन’, कोइरालाले थपे, ‘तर नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई, एकठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु । ढुक्क हुनुस् म यो ग्रुप, त्यो ग्रुप, कुनै ग्रुपमा छैन । मेरो एउटा मात्र इच्छा भनेको नेपाली कांग्रेसलाई एकढिक्का बनाइकन आगामी निर्वाचनमा पहिलो पार्टीका रूपमा प्रस्तुत गर्ने हो । अरु मेरो केही इच्छा छैन ।’