काठमाडौं । राष्ट्रिय सभाको नवनियुक्त उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गरेकी छिन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच अध्यक्ष नारायणप्रसाद दाहालबाट शपथग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँको कुराकानी उनले साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।
महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उनले मर्यादीत समाज बनाउनको लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘समाजमा बाच्नै नसक्नेगरी अहिलेको अर्को हतियार नकारात्मक रुपमा महिलाहरुमाथि प्रयोग भएको छ । महिलाको जीवन सिध्याउन उसको चरित्रमाथि प्रश्न गरिदिए पुग्छ । यो साइबर बुलिङ सम्बन्धी कानुन नै बनाएर जुन अपराधिक क्रियाकलाप भइरहेको छ त्यसको लागि सरकाले चाँडै सोच्ने छ । मर्यादीत समाज बनाउने हो भने यस सम्बन्धी कानुन नै बनाउनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त र मर्यादीत सभा बनाउन आफ्नो भूमिका रहने उनले जानकारी दिइन् । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक काम कारवाही अगाडि बढाउने विशेष योगदान आफ्नो हुने उनले जानकारी दिइन् ।
‘राष्ट्रिय सभाको काम कारवाहीलाई सहजिकरण गर्ने, अध्यक्षलाई सहयोग गर्ने, सभालाई शसक्त, मर्यादीत सभाको आफ्नो कर्तव्यतिर सहयोग गर्न मेरो आफ्नो भूमिका हुनेछ । सभाको गरिमालाई मध्यनजर गरेर अनुशासित पूर्वक अध्यक्षपछि मैले काम कारवाही अगाडि बढाउने विशेष योगदान हुने छ,’ उनले भनिन्।


