प्रा. डा.बद्रीविशाल पोखरेल
ने. क. पा. एमाले पार्टीमा बेलाबेला सुके लुतोले दुःख दिइरहन्छ । एक जमानामा जननेता मदन भण्डारी उपर सीपी मैनाली नामको सुकेलुतोले लामो समय हैरान पारेको थियो । यस लुतोले भण्डारीको निद्रा हराम गरेको थियो । यसपछि माकुने नामको सुकेलुतो नै पार्टी अध्यक्ष भए पछि सुकेलुतो पार्टीमा महामारी झैँ फैलियो । भण्डारी र जबजलाई नै विस्थापित गर्ने गरी सुकेलुतो डढेलो सरी पार्टीमा फैलियो । चरम सैद्धान्तिक अवसरवादी जबजमा विद्यावारिधि गर्ने डा. बेदुराम भुसाल जबजकै विरुद्ध तीन बित्ता उफ्रँदै गरेको यस लेखकले देखेसुनेकै हो । यस्ता सुकेलुताहरु ओली उदय पछि उहाँले क्रमशः उपचार गर्न थाल्नु भयो । सुकेलुतोको दवाइ गर्न थालेपछि लुताहरु बर्बराउन र चिच्याउन थाले । ओली वरिपरि पनि यस्ता सकेलुताहरु यस लेखकले पहिचान गरेको छ । जसो गर्दा पनि यो लुतोले दुःख दिइरहँदो रहेछ । स्थायी समितिमा छ , मन्त्री पनि भयो सुकेलुतो तर चित्त बुझाएर कहिल्यै बस्तैन । सुकेलुतो देखेर तमाम प्रतिक्रियावादीहरु खुब खुसी हुन्छन् । केही कानुन्ची पनि सुकेलुतो कन्याउन मजा मान्छन् । आजै न्यायका नौसिङे एक ओकिलले एक अखबारमा राम्ररी सुकेलुतो कन्याएछन् । कन्याए पछि सुकेलुतो अरु फैलिन्छ । पार्टीमा कहिले काहिँ सुकेलुतो कन्याउन मजा लाग्दो हो तर भुसाल नामको काछको सुकेलुतो मुखतिर सर्ने डर हुनथाल्यो । त्यसैले अनुशासन आयोगले कार्यवाही सिफारिस गर्दा सुकेलुतो र तयसका मतियार नै डाँडोखोलो हल्लाउन थालेको देख्दा अचम्म लागेको छ । तिनको पनि उपचार यस लेखसित रहेको छ । आवश्यक प¥यो भने ती सबै सुकेलुताहरु ठाउँको ठाउँ ठेगान लगाउने क्षमता यो लेखक राख्छ । यस लेखकलाई थेत्तराको ओखती थाहा छ । जननेता मदन भण्डारी र जबजका चरम विरोधी भुसाल कुन सिद्धान्त र विचार माथि बहस गर्छन् त्यो उनी भन्न सकिरहेका छैनन् । जति पटक भुसाल बोल्छन्, लेख्छन् कहिल्यै भण्डारी र जबजको उच्चारण पनि गर्दैनन् तर आफूलाई आफैँ महान् सैद्धान्तिक नेता भन्छन्,लाजको पसारो ।
आज जेठ २५ गते घनश्याम भुसाल भ्रान्त मिडियामा चरम र सरम लाग्दो पार्टी विरोधी भ्रान्त धारणा व्यक्त गर्दै थिए । भुसाल आधा खण्टाको कार्यक्रममा आफैँ विरोधासपूर्ण बाली बोल्दै थिए । उनी आवेश उत्तेजनामा ओली विरोधी बर्बर गर्दै थिए । भुसाल एकातिर एमाले संस्थागत पार्टी भन्दै थिए भने अर्कातिर ओलीले व्यक्तिवादी तरिकाले पार्टी चलाएको बर्बराहट गर्दै थिए । समृद्ध नेपाल सुखी नेपाली जस्ता जबजका प्रकाशमा निर्मित नारालाई समेत ओली लक्षित भनेर कटुकटाक्ष गर्दै थिए , उनी ओलीले पार्टी र सरकारमा समेत गलत नारा लगाएको फतुर लगाए । नेताहरु अवसरवादी भएको आरोप लगाउने भुसाल आफ्नो चरम अवसरवादी चरित्रको पोल खोलेको थाहा नै पाएनन् । अन्य पार्टीले कार्यवाही गरेका सांसद्लाई सभामुखले तुरुन्त कार्यवाही प्रक्रिया अघि बढाएको तर एमालेले कार्यवाही गरेका १४ जना सांसदलाई सभामुखले कार्यवाही गरेनन् । यस बापत सदन अवरुद्ध गरेकामा उग्रविरोध गर्ने भुसाल अतिसामान्य चेतबिना मिडियामा बर्बैराउँदै थिए ।
मूर्खहरु विद्वान्को धेरै रिस र डाह गर्छन् तर विद्वान्हरु मूर्ख र महामूर्खलाई पनि बारबार शिक्षा दिइरहन्छन् शिक्षा र संस्कारले सुसज्जित बनाउन भरमग्दुर प्रयत्न गर्छन् ।
अगस्त्य ऋषिले नदीमा बग्दै गरेको बिच्छीलाई जोगाउन खोज्दा हातमा टोकेर बिच्छीले रगताम्मे पार्छ तर ऋषि त्यस बिच्छीलाई अन्तिमसम्म जोगाउने नै प्रयत्न गर्छन् तर टोक्ने धर्म ग्रहण गरेको बिच्छी आफैँलाई बचाउने ऋषिलाई बारबार टोकी रहन्छ । कतिपय मानिस टोक्ने धर्ममा लिप्त हुन्छन् तर प्राणी मात्रलाई बचाउने धर्मलाई आत्मसात् गर्नेहरु प्राणी मात्रको जीवन रक्षाका लागि आफूलाई समेत बलि चढाउँछन् । ओली र भूसालमा उपयुक्र खालको आकास जमिनको फरक छ र रहेको छ । योग्यता बिना क्लास चढ्दै गएको भुस्कुल विद्यार्थी विज्ञगुरुको कक्षा नै बहिष्कार गर्छ । कहिले काहिँ नकारात्मक इष्र्या मात्र गर्ने विद्यार्थी गुरुको धाराप्रवाह ज्ञानगङ्गा सुनेर आफैँ जल्छ । सामन्तवादी वा पुँजिवादी प्र्रतिस्पर्धा अर्थात् जतासुकै , जुनसुकै जेसुकै क्षेत्रमा पनि आफू मात्र एक्लो वीर बन्न चाहन्छ । यस्ता कम्युनिस्ट नामका नेता समाजवादी प्रतिस्पर्धा अर्थात् सिङ्गो समाज वा बहुसंख्यक श्रमजीवी जनसमुदायलाई सक्षम र प्रतिभाशाली बनाउन पटक्क मन मान्दैन । बारबार आफैँ मात्र सबै खालका अवसर पाउन हत्ते हाल्छ । त्यसैले यस्ता खोटी नेताले आफ्नै पार्टीको अध्यक्षलाई मार्न पनि सक्छन् र मार्ने प्रयत्न गछ्र्रन् । यो कुरा माओको जीवनीबाट स्पष्ट हुन्छ । संसद् विघटन गर्न बाध्य पार्ने माकुने र प्रचण्डले ओलीलाई जता फर्के पनि अक्करमा पार्ने दुर्नियत राखेका थिए । पुष्पकमल दाहाल उर्फ प्रचण्डले पार्टीमा ओली विरोधी अभियोग पत्र दर्ता ख्यालख्यालमा गरेका थिएनन् । संसद् विघटन नभएको भए प्रचण्ड प्रधानमन्त्री हुन्थे । उनी आफैँले ओली उपर लगाएका अत्यन्त गम्भीर आरोप र अभियोगलाई आधार बनाएर ओलीको राजनैतिक जीवनमा चोट पार्ने दाउ रचेका थिए । यस खालको शकुनी र मन्थराहरुका जाल देख्नु र बुझ्नु भएका ओलीले दुष्मनलाई कसरी पाहा पछारेझैँ पछार्नुपर्छ भन्ने देख्नु भएको थियो । तर परिस्थिति परिपक्व नभइ भनिहाल्न मात्र मिलेन । यस्ता कुरा बुझ्नै एमाले कति छन् खोजी गर्नु पर्ने अवस्था छ । यसका एक मतियार भुसाल पनि रहेको उनका निरन्तरका ओली दुराग्रहपूर्ण विरोधी गतिविधिबाट स्पष्ट हुन्छ । शायद् यस्तै खालको कर्म गर्न भुसाल पार्टीमा अनावश्यक रडाको मच्चाइ मच्चाइ बसिरहेका छन् ।
उत्तम मानिस समस्या आउनु भन्दा अघि नै सचेत र सावधानी अपनाउँछ, मध्यम मानिस समस्या देखापरेपछि समाधानमा भरमग्दुर लागिपर्छ अधम मानिस सकेसम्म समस्या अल्झियोस्,बल्झियोस् भनेर धूप हाल्छ र सकेसम्म समस्या समाधान नहोस् भनेर ज्यान फालेर लागि पर्छ । यो आम मानिसको पहिचानका पक्ष हो । अति सामान्य नैतिकता र विवेक बिना मानिस मानिस कहलाउन सक्रैन । पार्टी भनेको एउटा पारिवारिक घरजस्तै त हो । कुनै पनि घरमा अनुशासन हुन्छ ,नीति र नियम हुन्छ । त्यस घरमा एउटा प्रमुख अभिभावक हुन्छ । उक्त अभिभावक बत्तीस लक्षणको हुँदैन तर पनि उसको नेतृत्व र निर्देशनमा परिवार चल्छ र चलेको हुन्छ । घरका सबै कामको जस अपजस अभिभावकमा हुन्छ तर धन्धुकारी सन्तानले सदा खोचे थापेर बखेडा गरेपछि घरमा समस्या हुन्छ । त्यसैले एमाले पार्टीमा घनश्याम भुसालको चरित्र र चिन्तन आजदेखि होइन, धेरै पहिलेदेखि धन्धुकारी सन्तान सरहको रहेको यस लेखकले स्पष्ट देखेको छ । यस्ता सन्तानले बाचुन्जेल बाबुआमालाई दुःख दिन्छन् भने बाबको सेखपछि उनै बाबुले दिएको अंश समेत चरम दुरुपयोग गर्छ । अनि आखिरमा दोबाटामा कटौर लिएर मागी खानु पर्ने अवस्थामा पुग्छ । जसले सिद्धान्त, संगठन र सिर्जनात्मक क्षमताको सदा विरोध गर्छ भने त्यसले गर्ने काम के हो र ?
हेर्दा हेर्दै जननेता मदन भण्डारीले गरेको नेपालको बाम तथा प्रजातान्त्रिक आन्दोलनमा कत्रो योगदान कति महत्वपूर्ण रह्यो । २०४६ सालको आन्दोलनको निर्णायक भूमिका निर्वाह गर्ने भण्डारी एकातिर र कम्युनिस्ट कठमुल्लावादमा रमाउने बुढ्यौली उमेरमा पनि अस्थिर र अराजक तथा चरम अवसरवादी नेताको के तुलना गर्नु ? धेरै उमेर बाँचेर भन्दा थोरै उमेरमा महानतम योगदान गर्नेसित के तुलना गर्नु र ? कहाँ जून कहाँ जुनकिरी कहाँ तारा कहाँ घाम ? मोहन विक्रम सिंह, मोहन बैद्य नै मदन भण्डारीले बनाइदिएको मार्गमा सजिलै हिड्न पाएका न हुन् नत्र यिनलाई नेकाका कतिपय नेताले कम्युनिस्टको सरकार बन्यो भने ६० वर्षका बूढाबूढी मार्छ भनेको भ्रम निवारण गर्न एक जुनी जान्थ्यो । ४० वटा जति मित्रराष्ट्रहरुले नेपाललाई उपहार स्वरुप दिएका रोजगार तथा उत्पादनमूलक उद्योगहरु माटाका भाउमा बेच्ने कांग्रेसले केही गर्ला भनेर सोच्न पनि सकिन्न । देखासिकी लिपापोती गर्ने कुरा बेग्लै हो ठोस काम गर्ला भन्ने भरोसा भने छैन । एमालेको रिस र डाह गरेर रुने चिच्याउने कथित कम्युनिस्टको पनि कुरा गर्नु बेकार छ । पुष्पकमल दाहाल उर्फ प्रचण्ड र माकुने गुटहरु कांग्रेसको पुच्छर बनेर छछमहिने एक थान मन्त्री खान लम्पसार परेको लाज लाग्दो दृश्य देखिन्छ । बराला माधव नेपालसँगै सती जाने प्रदीप नेपाल र अर्का जता दूधभात पाइन्छ त्यतै टाँसिने मुकुन्द न्यौपानेसितै चितामा चढ्ने भाइ केदार न्यौपाने कम्युनिस्ट नामका कलंक हुन् । यस्तै कलंकको टीका लगाउन तयार हुनेहरु एमालेमा कति छन् ? यस्ता कुलक्षणहरु यस लेखकलाई थाहा छ ।
जात,भात,नाक,नश्ल थर र गोत्र भजाएर भात खान हत्ते हाल्ने कतिपय नेतालाई यस लेखकले टेलिफोनबाटै सातो बोलाएको थियो । पार्टीका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली आजसम्मका क्रियाकलापबाट एमालेका भविष्य हुन् । टोप बहादुर रायमाझी र मणि थापाजस्ता नेता प्रति कार्यकर्ताले आश र भरोसा गरेको देखिन्छ । कम्युनिस्ट पार्टीमा दुई दुई पटकको मौका पनि सदुपयोग नगर्ने र जहिले पनि दागी मात्र हुने नेतालाई राजकीय र राजनैतिक कुनै अवसर दिनु हुँदैन । तर सुकेलुताहरु घुसघसे पारामा संगठित हुने खतरा देखिन्छ । यसलाई अगुवा कार्यकर्ता र नेताहरुले बेलैमा खवरदारी गर्नु जरुरी देखिन्छ ।