३० बैशाख २०८३, बुधबार 1778708057
Banner

राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने जानकारी दिए ।

राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी व्यवस्था छ । त्यो धारामा ‘राष्ट्रपतिबाट सम्बोधन’ शीर्षकमा लेखिएको छ, ‘राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ ।’

आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२स्०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।