काठमाडौं । दशैं नेपालीका लागि चाडपर्व मात्रै होइन, परिवारसँग भेटघाट गर्ने, आफन्तको माया र आशीर्वाद लिने तथा बाल्यकालका पुराना सम्झना ताजा बनाउने अवसर पनि हो। काम र अवसरको खोजीमा गाउँ छाडेर सहर तथा विदेश पुगेकाहरू दशैंमा जन्मथलो फर्किंदा विगतका दिन सम्झेर भावुक बन्ने गर्छन्। उद्योगपति चन्द्र ढकाललाई पनि यस वर्षको दशैंले बाल्यकालका त्यस्तै सम्झना ताजा बनाइदिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष , वरिष्ठ व्यवसायी एवं आईएमई ग्रुप का अध्यक्ष ढकाल यस वर्ष दशैं मनाउन आफ्नो जन्मथलो बागलुङको बलेवा पुगे। व्यावसायिक जीवनमा देश–विदेशमा व्यस्त रहने ढकाल परिवारसँग जन्मघर पुगेर आमाको हातबाट टीका र आशीर्वाद थाप्दा भावुक बने। गाउँको आँगनमा परिवार र आफन्तजनसँग दशैं मनाउँदा उनलाई बाल्यकालमा बिताएका ती दिनहरूको सम्झना आयो।
ढकालले सामाजिक सञ्जालमार्फत आफ्ना अनुभूति साझा गर्दै दशैंमा सहरभन्दा गाउँघर र जन्मघरका सम्झनाहरू बढी आउने बताएका छन्।‘दशैँ भन्नासाथ मनमा सहरको सम्झना थोरै मात्र आउँछ, मनभरि उर्लिएर आउने स्मृतिका छालहरू गाउँघरकै हुन्छन्। अझ बढी त जन्मघरकै आउँछ, जुन घर र आँगनमा जीवनका सुन्दर बालापनहरू बितेका थिए र भविष्यका सपनाहरूको बीजारोपण गरिएको थियो,’ उनले लेखेका छन्।
उनका अनुसार यस वर्ष आफ्नै जन्मथलो बागलुङमा सपरिवार जम्मा भएर आमाको हातबाट टीका र आशीर्वाद थाप्न पाउँदा मनमा अपार खुसी छाएको छ। आफन्तजनबाट प्राप्त आशीर्वादले त्यो खुसीलाई थप गहिरो बनाएको उनले उल्लेख गरेका छन्।
दशैंको टीका लगाइरहँदा ढकालका सम्झनामा बाल्यकालका ती दिनहरू फर्किए, जुन अहिले पनि उनको मनमा उत्तिकै ताजा छन्। घटस्थापनादेखि गाउँघरमा सुरु हुने चहलपहल, मिठोमसिनो खानेकुराको सुवास, नयाँ कपडा लगाउने रहर र रातो माटो तथा कमेरोले लिपेर चिटिक्क पारिएका घर उनका स्मृतिमा फेरि जीवित भए।
साथीभाइ मिलेर बनाएको लिङ्गे पिङ, नवमीका दिन भैरवस्थानमा लाग्ने तरबार नाचसहितको मेला र मामाघरमा बिताएका रमाइला क्षणले उनको बाल्यकालीन दशैंलाई अझ विशेष बनाएका थिए। समय बित्दै जाँदा जीवनशैली फेरिए पनि ती दिनको सम्झना भने मनबाट नमेटिने उनको अनुभव छ। व्यावसायिक जिम्मेवारी र कर्मले मानिसलाई जहाँ पुर्याए पनि आफ्नो जन्मघर, आँगन र परिवारसँग जोडिएको आत्मीयता कहिल्यै नटुट्ने ढकालको भनाइ छ । उनले लेखेका छन्–‘समय र कर्मले जहाँ पुर्याएर पनि मनको एउटा कुनामा सधैँ जन्मघर र आँगन, बुबाआमा र आफन्तजनहरूको अनुहार नै बस्ने रहेछ ।’
दशैंमा गाउँ फर्किने धेरै नेपालीको अनुभवसँग ढकालका यी भावना पनि मेल खान्छन्। जीवनमा सफलता हासिल गर्दै सहरमा ठूलो घर बनाउने, व्यवसाय विस्तार गर्ने र देशविदेशमा पहिचान बनाउनेहरूका लागि पनि बाल्यकाल बिताएको घर र आँगनको महत्व छुट्टै हुन्छ। दशैंमा जन्मथलो फर्किंदा मानिस टीका र आशीर्वाद लिन मात्र पुग्दैनन्, आफ्ना पुराना दिन, बाल्यकालका खुसी र परिवारसँग बिताएका अमूल्य क्षणहरू फेरि एकपटक महसुस गर्न पनि पुग्छन्। चन्द्र ढकालका लागि यस वर्षको दशैं पनि त्यही आत्मीयता, पारिवारिक मिलन र बाल्यकालका अविस्मरणीय सम्झनाहरूमा फर्किने अवसर बनेको छ ।

