काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी मुख्य सचेतक खुश्बु ओलीले राजनीतिक संस्कारको परीक्षणमा सत्तारुढ दल असफल साबित भएको बताएकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी उपसभामुखमा राप्रपालाई समर्थन गर्ने आश्वासनबाट पछि हटेपछि ओलीले शुक्रबारको प्रतिनिधसभा बैठकमा यस्तो टिप्पणी गरेकी हुन्। संसद्को गरिमा सदनको नियमावलीमा मात्र नभई दलहरूबिचको विश्वास, समझदारी र जिम्मेवार राजनीतिक संस्कारमा निर्भर रहने उनको भनाइ छ।
यो संविधानले प्रतिपक्षलाई निहित गरेको पदको मात्र प्रश्न होइन, यो राजनीतिक आचरण र विश्वसनीयताको पनि परीक्षण थियो। राजनीतिक संस्कारको पनि परीक्षण थियो। जसमा सत्तारुढ दलले आफूलाई असफल साबित गरेको छ,’ उनले भनिन्।
उपसभामुखको सन्दर्भमा बनेको समझदारी अन्तिम घडीमा लत्याइएको भन्दै ओलीले दलहरूबिचको ‘ट्रस्ट डेफिसिट’ संस्थागत हुँदै गएको बताइन्। ‘यस विषयले हामी दलहरूबिच विश्वास भन्ने कुरा कति सस्तो रहेछ भन्ने प्रस्ट्याइदिएको छ। दलहरूबिचको ट्रस्ट डेफिसिट संस्थागत हुँदै गएको छ,’ उनले भनिन्।


