४ आश्विन २०८१, शुक्रबार 1726889444
समाचार

दाइजो माग्दै बिहे नगर्ने पुरुषलाई १५ हजार जरिवाना

नेपालगन्ज — दाइजो नपाएका कारण विवाह नगर्ने व्यक्तिलाई बाँके जिल्ला अदालतले १५ हजार जरिवाना गर्ने फैसला गरेको छ ।जेठ २३ गते उक्त मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतले दाइजो माग्ने अरबिन्द रजकलाई १५ हजार जरिवाना र ६ सय रुपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको मुद्दामा बहस गरेका अधिवक्ता लोक बहादुर शाहले बताए ।

विवाहको तयारीमा लाखौं खर्च गरेका केटी पक्षले अदालतको फैसलाबाट आफूहरू खुसी नभएको प्रतिक्रिया दिएका छन् । कानुनमा दाइजो लिनेलाई ३ वर्षसम्म कैद, ३० हजार जरिवाना वा दुवै हुने व्यवस्था भए बमोजिम सोही अनुसार फैसला नआएकोमा पीडित पक्षले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘कसुर त कायम भयो। प्रमाणित भयो । तर दाइजो लिइसकेको अवस्था देखिएन । मानसिक रुपले भने क्षति भयो । कसुर प्रमाणित भयो,ु अधिवक्ता लोक बहादुर शाहले भने, ुयो फैसलाले समाजका लागि दाइजो मागेपछि पनि सजाय हुन्छ भन्ने नजिर स्थापित गरयौं ।’

डुडुवा गाउँपालिका वडा नं १ पिप्रहवाका २४ वर्षीय रबिन्द रजकले केटी पक्षसँग दाइजो स्वरुप मोटरसाइकल र नगद ३ लाख मागेको भनी दायर गरिएको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो ।केटा पक्षले विवाहमा तोकेरै दाइजो मागेपछि केटी पक्षले कानुनी कारबाहीका लागि २०७८ फागुन ६ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराएका थिए ।

सुरुमा जाहेरी दर्ता नगरी दुवै पक्षलाई मिलाउने धेरै प्रयास गर्दा पनि केटा पक्षकाले नमानेको र दाइजो बिना विवावाह नगर्ने अडान राखेपछि केटी पक्षले प्रहरीकहाँ जाहेरी दर्ता गरेका थिए ।

डुडुवा १ बस्ने अरबिन्द रजकसँग केटी पक्षको सहमतिमा २०७८ माघ २६ गते विवाहको मिति तय गरिएको थियो । केटी पक्षले विवाहको कार्ड छाप्ने, आफन्तलाई निम्ता दिने, विवाहको लागि आवश्यक चिजवस्तु, सरसमान किनमेल गरिसकेको अवस्थामा केटा पक्ष अरबिन्द रजकले एक्कासी दाइजोको माग गर्दै बिहे नगर्ने बताएका थिए ।

विवाहको लागि २०७८ मंसिर १६ गते मगनी कार्यक्रम मार्फत दुवै पक्ष बसी २०७८ माघ २६ गते विवाह गर्ने मिति तोकिएको थियो । तर, विवाह तय भइसकेपछि मोटरसाइकलका साथै नगद पैसा माग्दै अनेकौं तनाब दिन थालेपछि केटीले नै विवाह नगर्ने भन्दै कानुनी बाटो रोजेको केटीका बाबुले बताए ।

‘विवाह तय भइसकेपछि छोरीको खुसी र इज्जतका लागि मोटरसाइकल, सोफासेट, पलङ दिन्छु भनेको थिएँ । तर मागमाथि माग गरेर केटा पक्षले दबाब दिए’ उनले भने, ुमेरो लाखौं खर्च भयो । छोरीलाई मानसिक तनाब भयो । तर पनि उनीहरुलाई एउटा सबक भयो ।’

दाइजो माग्ने रजक डुडुवा गाउँपालिकामा करारमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन् । बाँकेमा दाइजोजन्य मुद्दामा जरिवाना भएको यो पहिलो घटना हो ।