काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयलाई गम्भीर समीक्षा गरी पुनर्गठनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्र र बाहिरबाट उठाइँदै आएको ‘वामपन्थी एकता’ सम्बन्धी बहसप्रति प्रश्न उठाउँदै त्यसको समय सान्दर्भिक नभएको बताएका हुन् ।
निर्वाचनमा देखिएको परिणाम एमालेका लागि चिन्ताजनक भएकाले अहिलेको मुख्य कार्यसूची गहिरो आत्मसमीक्षा र सङ्गठन सुदृढीकरण हुनुपर्ने उनको भनाइ रहेको छ । उनले लेखेका छन्, ‘पराजयको वास्तविक कारण के हो रु भन्नेबारे स्पष्ट विश्लेषण नगरी अन्यत्र ध्यान मोड्नु उचित हुँदैन ।
उपाध्यक्ष पौडेलले यतिखेर ‘वाम एकता’ को चर्चा अघि सारिनु पर्दाभित्रको नियोजित प्रयास हुनसक्ने आशङ्का व्यक्त गरे । ‘यो बहस कसले र किन चलाइरहेका छन् ? भन्ने प्रश्न उठ्छ’, उनले लेखेका छन्, ‘जब पार्टीलाई आफ्नो सङ्गठन मजबुत बनाउनुपर्ने बेला छ, त्यतिबेला असान्दर्भिक विषय उठाउनुको उद्देश्य के हो भन्ने स्पष्ट हुनुपर्छ ।’


