३० कार्तिक २०८१, शुक्रबार 1731683486
राजनीति

सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन ?:सत्तापक्षिय सांसद

काठमाडौँ: नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले प्रतिनिधि सभामा सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकार भएको अनुभूति हुन नसकेको समेत बताइन् ।

‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने । कस्तो विडम्बना, सरकार कहाँ छ ? जिम्मेवार र वफादार बन्नु पर्दैन,?’ उनले भनिन् ।

सांसद संग्रौलाले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको बताइन् । त्यति मात्र होइन खेती गर्ने बेला किसानहरूले मल पाउन नसकेको उनले जनाइन् ।

‘महँगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । फोहोरमाथि राजनीति हुन्छ, ढुंगामुढा हुन्छ स्वच्छ वातावरण छैन । हत्या, हिंसा, बलात्कारले अस्मिता लुटिन्छ, न्याय पाउने आशा छैन,’ सांसद संग्रौलाले भनिन् ।