५ जेष्ठ २०८३, मंगलबार 1779232440
समाचार

पोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । दुर्गा भगवती गाउँपालिका-१, पिपराटोल बस्ने गौरीशङ्कर साह कलवारका ५ वर्षीय छोरा कृष साह कलवारको ज्यान गएको हो ।

घरबाट करिब १ किलोमिटर टाढा रहेको ब्रह्मस्थान नजिकैको पोखरीमा सोमबार साँझ करिब ६ बजे तिर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

बालक नुहाउने क्रममा पोखरीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायव निरीक्षकको नेतृत्व मा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई फेला पारी तत्काल उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले जाँच गर्ने क्रममा साँझ ७ः०० बजे बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर राखिएको छ । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । गर्मी बढ्दै जाँदा जलाशय आसपास बालबालिकाको सुरक्षामा विशेष सतर्कता अपनाउन जरुरी देखिन्छ ।