हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत लामो समयदेखि रुग्ण (अलपत्र) अवस्थामा रहेका ४३ वटा योजनामध्ये ३४ वटाको निर्माण कार्य पुनः सञ्चालनमा आएको छ । मन्त्रालयको ‘रुग्ण आयोजना पहिले सक्ने’ नीतिअनुरूप पूर्वाधार विकास कार्यालय मकवानपुरअन्तर्गत पर्ने मकवानपुरगढीको सामरी, सिक्रे दोभान, लालझाडी पुल, राप्ती करिडोर लगायतका कामले तीव्रता पाएको हो ।
यसै सन्दर्भमा, हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा आएका योजनाहरूको पछिल्लो अवस्था बुझ्न बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले स्थलगत अनुगमन गरेका छन् । उनले मंगलबार हेटौंडा–१ स्थित लालझाडी जोड्ने पुल, राप्ती करिडोर, वडा नं. ६ को भाङटार पुल, हेटौंडा चक्रपथ (रिङरोड)अन्तर्गत वडा नं. १५ को खहरे ढलान र वडा नं. १७ स्थित कर्रा खोला पुलको निर्माणाधीन संरचनाको निरीक्षण गरे ।
अनुगमनका क्रममा मन्त्री डा. देवकोटाले सुरु भइसकेका योजनाहरू तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न र रोकिएका योजनाहरू तत्काल अगाडि बढाउन निर्देशन दिए । उनले समयमै काम सम्पन्न गर्न आवश्यकताअनुसार कामदार थप्न निर्माण व्यवसायीलाई आग्रह गर्दै भने, ‘जनतालाई प्रत्यक्ष लाभ हुने कुरामा हामी ढिलासुस्ती चाहँदैनौँ । गुणस्तर हाम्रो पहिलो प्राथमिकता हो, त्यसमा कुनै सम्झौता हुँदैन । अझै कामदार थप्नुस्, समयमै काम सम्पन्न गरेर भुक्तानी लिनुस्, भुक्तानीमा कुनै समस्या हुने छैन ।’
कहाँ के भइरहेको छ निर्माण ?
भाङटार खहरे खोला बक्सपुल
अनुगमन गरिएका आयोजनामध्ये हेटौंडा उपमहानगरपालिका वडा नं. ६ र ७ जोड्ने भाङटार खहरे खोलाको बक्सपुल निर्माण अन्तिम चरणमा पुगेको छ । यसअघि उपमहानगरपालिकाले सुरु गरेर पूरा गर्न नसकेको यो पुल बागमती प्रदेश सरकारले करिब १ करोड ७९ लाख रुपैयाँ विनियोजन गरेपछि निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हो । करिब १८ मिटर लम्बाइ र ८.४० मिटर चौडाइ रहेको यस पुलको अब रेलिङ राख्ने काम मात्रै बाँकी छ । यस योजनाअन्तर्गत ७६० घनमिटर जालीको काम सकिएको छ भने २७० घनमिटर प्लम वालको काम अन्तिम चरणमा छ । निर्माणको जिम्मा पाएको सरस्वती निर्माण सेवाले २०८३ जेठ १५ को म्याद अगावै पुल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।
लालझाडी पुल
डिजाइनमा समस्या हुँदा सुस्त बनेको हेटौंडा–१ स्थित राप्ती खोलामा लालझाडी जोड्ने पुलको कामले पनि गति लिएको छ । पूर्वाधार विकास कार्यालय मकवानपुरका सवइन्जिनियर रवीन्द्र यादवका अनुसार डिजाइन सुधारपश्चात् तीनमध्ये दुई स्पानको ढलान सकिएको छ भने आगामी साताबाट तेस्रो स्पानको काम सुरु हुनेछ । शिवशक्ति–सिद्धार्थ–शिवम जेभीले २०७८ जेठ १८ मा ८ करोड ४७ लाख रुपैयाँमा सम्झौता गरेको यो पुल १२० मिटर लामो र ११ मिटर चौडा छ । डिजाइन सुधारपछि लागत ९ करोड ३२ लाख पुगेको यस पुलको हालसम्म ५९ प्रतिशत भौतिक प्रगति भएको छ भने ५ करोड ७६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
राप्ती करिडोर
चौकीटोलदेखि राप्ती पुलसम्मको २.३४ किलोमिटर राप्ती करिडोर निर्माणको काम डिजाइन र सीमा विवाद समाधान भएपछि धमाधम भइरहेको छ । गजुरमुखी–शिवशक्ति–निशान जेभी काठमाडौंले २०७६ सालमा ठेक्का लिएको यस योजनाको लागत १३ करोड ८४ लाख रुपैयाँ रहेको छ । फिल्ड इन्जिनियर यादवका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ भने ९ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
हेटौंडा चक्रपथ स्तरोन्नति
चक्रपथ परियोजनाअन्तर्गत हेटौंडा–१४ र १५ को खहरेमा ८५० मिटर ढलान, फुटपाथ ग्रेड र ग्याबियन वाल बनाइने काम भइरहेको छ । सुन्दर नेपाल–रोजा–स्यार्सेकाली जेभीले २ करोड ८९ लाखमा ठेक्का सम्झौता गरेको यस योजनामा वडा नं. १४ को काम सकेर १५ तर्फ काम सुरु गरिएको छ । हालसम्म यसको भौतिक प्रगति ३८ प्रतिशत रहेको छ ।
कर्रा खोला पुल
हेटौंडा–१७ र १८ जोड्ने कर्रा खोलाको निर्माणाधीन पुलको काम ८८ प्रतिशत सकिएर पनि अदालती प्रक्रियाका कारण रोकिएको थियो । २०७४ सालमा इलिट–सपना–विद्याञ्चल जेभीले ५ करोड २६ लाख रुपैयाँमा निर्माण जिम्मा लिएको यस पुलको विवाद हाल अदालतबाट निरूपण भइसकेको छ । पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण खनालका अनुसार अब काम पुनः सुरु हुने चरणमा छ भने म्याद २०८३ असार २५ गतेसम्म थपिएको छ ।
पूर्वाधार विकास कार्यालय मकवानपुरले जिल्लामा लामो समयदेखि अलपत्र रहेका आयोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले बताए ।
‘विगतमा विभिन्न कारणले रोकिएका आयोजनाहरूलाई वर्गीकरण गरी काम सुरु गरिएको छ । मकवानपुरका प्रायः सबै ‘क्रोनिक’ (रुग्ण) आयोजनाहरूमा काम सुरु भइसकेको छ र धेरैमा उल्लेख्य प्रगतिसमेत हासिल भएको छ,’ उनले भने ।


