सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका–२ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ः४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका–२ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरिबहादुर अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो । पछि उनलाई एलएस न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका–२ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरि वनले नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


