२५ बैशाख २०८३, शुक्रबार 1778245782
समाचार

होर्मुजमा अमेरिका-इरान हानाहानलगत्तै यूएईमा क्षेप्यास्त्र प्रहार

काठमाडौँ : केही हप्तादेखि अमेरिका र इरानबिच जारी युद्धविरामका कारण मध्यपूर्वमा मत्थर भएको द्वन्द्व फेरि चर्किन थालेको छ।

जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच गोलाबारी भएको घटना सार्वजनिक भएलगत्तै शुक्रबार बिहान यूएईले इरानबाट हवाई हमला गरिएको बताएको छ।

यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोकिएको बताएको छ।

यूएईको रक्षा मन्त्रालयले एक्समा लेखेको छ, ‘हाम्रो वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्र, क्रुज क्षेप्यास्त्र र ड्रोनलाई रोकिरहेको छ, त्यसैले देशका विभिन्न भागमा आवाज सुनिएका छन्।’

यूएईको रक्षा मन्त्रालयले आफ्ना नागरिकलाई शान्त रहन र सुरक्षा एजेन्सीले जारी गरेका निर्देशन पालना गर्न अपिल गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बिहीबार होर्मुज स्ट्रेटमा अमेरिकी जहाजमा हमला गरेपछि अमेरिकाले पनि जवाफ दिएको बताएका छन्।

उले भनेका छन्, ‘आक्रमण गरिएका जहाजमा तीन अमेरिकी विध्वंसक थिए, त्यसैले ती बिनाक्षति होर्मुजबाट निस्किए। प्रतिआक्रमणमा इरानका धेरैवटा साना डुंगा पूर्ण रूपमा नष्ट भएका छन् र अमेरिकी जहाजविरुद्ध प्रहार गरिएका मिसाइल सजिलै खसालियो।’

उता इरानी सेनाले भने अमेरिकालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै कडा जवाफ दिइने चेतावनी दिएको छ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिका मिलेर इरानमा हवाई हमला गरेपछि सुरु भएको युद्ध ट्रम्पले केही हप्ताअघि अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेका थिए।

गत अप्रिल ८ देखि लागु युद्धविरामले अमेरिका–इजरायल र इरानबिच जारी लडाइँ रोक्ने आशा जागेको थियो। तर बिहीबार होर्मुज स्ट्रेटमा अमेरिका र इरानबिच बिहीबार गोलाबारी भएपछि मध्यपूर्वमा फेरि युद्ध चर्किने चिन्ता बढेको छ।