२५ बैशाख २०८३, शुक्रबार 1778270966
अर्थ

सि.आई.एम नेपालमानव संसाधन सम्मेलनको दोश्रो संस्करण सुरु

विराटनगर । नेपालको औद्योगिक विकासलाई दिगो, प्रतिस्पर्धी तथा उत्पादनमुखी बनाउन सक्षम र दक्ष जनशक्ति विकास र क्षमता वृद्धि गर्ने उद्देश्यका साथ आयोजित सि.आई.एम नेपाल मानव संसाधन सम्मेलन २०२६ को दोस्रो संस्करण शुक्रबार औपचारिक रूपमा उद्घाटन भई सुरु भएको छ ।  

उद्योग, शिक्षा र सरकारी क्षेत्रबीच समन्वयमार्फत दक्ष जनशक्ति विकास गर्ने मूल उद्देश्यसहित आयोजित दुई दिने सम्मेलनमा उद्योगी व्यवसायी, नीतिनिर्माता, शिक्षाविद्, मानव संसाधन विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रमको समुद्घाटनमा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले वर्तमान समयको आर्थिक तथा औद्योगिक प्रतिस्पर्धामा सक्षम, दक्ष र उत्तरदायी मानव संसाधनको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख बताए । उनले शिक्षा, सीपविकास र उद्योगबीचको समन्वयलाई सुदृढ गर्दै युवालाई रोजगारी र उद्यमशीलतासँग जोड्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग र श्रम बजारबीचको दूरी घटाउने, नयाँ सीपको माग अनुसार जनशक्ति तयार पार्ने तथा उद्योग आफैंले दक्ष जनशक्ति निर्माण गर्ने संस्कार विकास गर्ने लक्ष्यकासाथ कार्यक्रम आयोजना गरिएको बताए । 

अध्यक्ष राठीले उद्योगले दक्ष कामगर्ने मानिस नपाउने र पाएपनि नटिक्ने चुनौती भोगिरहेको उल्लेख गर्दै यो केवल श्रमिक अभावको समस्या नभई दक्षता, कार्यसंस्कृति, अवसर, सुरक्षा र विश्वाससँग जोडिएको विषय भएको बताए । उनले उद्योगहरूले हामीलाई तयार जनशक्ति चाहिन्छ भन्ने सोचबाट बाहिर निस्केर आफैं सक्षम जनशक्ति निर्माण गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । 

उनले उद्योग र एकेडेमिया क्षेत्रबीचको समन्वयलाई अत्यन्त महत्वपूर्ण विषयका रूपमा उल्लेख गर्दै शैक्षिक संस्थाहरूले उद्योगको आवश्यकता अनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने तथा उद्योगहरूले इन्टर्नशिप, प्रयोगात्मक तालिम, अनुसन्धान र रोजगारीका अवसरमा सहकार्य गर्नुपर्ने धारण राखे ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले नेपालको उद्योग क्षेत्र  प्रविधिगत परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै मानव संसाधन व्यवस्थापनलाई रणनीतिक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले दक्ष जनशक्तिबिना औद्योगिक विकास सम्भव नरहेको उल्लेख गर्दै निजी क्षेत्रले सीप विकास र नेतृत्व निर्माणमा थप लगानी गर्नुपर्ने धारणा राखे । पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. बिजु थपलियाले शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको दूरी घटाएर व्यवहारिक तथा बजारमुखी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । उनले दक्ष जनशक्ति उत्पादनकालागि अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक शिक्षाको समन्वय आवश्यक रहेको बताए  । विश्वव्यापी आर्थिक तथा प्राविधिक परिवर्तनले मानव संसाधन व्यवस्थापनको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै उनले अबको युगमा नेतृत्व क्षमता र सिर्जनशिलतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । 

शुक्रबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने र १० वटा विभिन्न सत्रहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले बहुराष्ट्रिय कम्पनीहरूको अभ्यास, प्रविधिगत परिवर्तनको प्रभाव, डिजिटल एचआर प्रणाली, कर्मचारी स्थायित्व, श्रम ऐन तथा औद्योगिक विकासमा मानव संसाधनको भूमिकाबारे आफ्नो अनुभव र धारणा प्रस्तुत गर्नुका साथै मोटिभेशनल स्पीकरले सफलताका सुत्रहरुका वारेमा प्रकाश पार्ने कार्यक्रम रहेको जनाईएको छ । 

कार्यक्रमलाई स्विस सरकार अन्तर्गतको इन्स्योर हेल्भेटास, एनभीक्यूएस, क्वालिटी परियोजनाको प्राविधिक सहयोग रहेको छ भने टाइटल स्पोन्सर कुमारी जब्स प्रा.लि., सिल्भर स्पोन्सर रिगो एचआर रहेको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । 

सम्मेलनमा सुनसरी मोरङ औद्योगिक करिडोरमा अवस्थित विभिन्न उद्योग प्रतिष्ठानका संचालक, व्यवस्थापक, मानव संशाधन प्रमुख, विभिन्न विश्वविद्यालयका प्राज्ञिक वर्ग, विकास साझेदार संस्थाका प्रतिनिधिहरु गरि १५० जनाको सहभागिता रहेको छ ।