२४ जेष्ठ २०८३, आइतबार 1780822173
समाचार

धादिङमा दुई बस र ट्रक ठोक्किँदा ३७ यात्रु घाइते

काठमाडौँ : धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा ३७ यात्रु घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत बैरेनीमा सडकमा रोकी राखेको ट्रकलाई गएराति बाग्लुङतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको उक्त बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेमध्ये तीन जना डिस्चार्ज भएका छन् । बाँकी ३४ घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १९ र टिचिङ अस्पताल महारजन्जमा नौजनाको उपचार जारी छ । अन्य घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तीनवटै सवारी साधनमा गरी कुल ६८ जना यात्रु सवार थिए। दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका चालकहरूमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र ट्रक चालक रौतहट गजुराका २८ वर्षीय प्रमोद चौधरी रहेका छन्।