काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाईको मात लागेर आफनो पार्टी अहिले सानो रुपमा खुम्चिनु परेको स्वीकार गरेका छन् । २०६४ सालको निर्वाचनमा झण्डै दुइ तिहाइ नतिजा ल्याएर अहिलेको रास्वपाकै हैसियतमा रहेको माओवादीले जनचाहना अनुरुप कार्य गर्न नसक्दा जनताले यस पटकको नतिजा अन्तै गएको उनको स्वीकार थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् ।
उनले भने, ०६४ सालको चुनावमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ, ‘करिब तपाईंहरूकै साइजमा थियौँ केही समय पहिले । आफ्नै कमजोरीका कारण जनताको विश्वास बचाउन सकिएन । इतिहासले भनेको छ- संख्या स्थायी हुँदैन ढुक्क हुनुस् । जनताको समर्थन पनि शसर्त हुन्छ उनले भनेजस्तो भएन भने भोलिपल्टै.. । हामीबाट सिक्नुस् । यहाँ निषेध अपमान र प्रतिशोध होइन । विश्वास सहकार्यले प्राथमिकता पाउनुपर्छ ।’जेन्जी आन्दोलनपछिको चुनावी परिणामले पुर्व प्रधानमन्त्री मध्ये उनीमात्रै सदनमा रहेको अवस्थामा प्रचण्ड जनयुद्ध सम्झेर भावुक समेत बने।

उनले आफ्नो नेतृत्वको सरकारले सुशासन, सेवा प्रवाह सरलीकरण, मेरिटोक्रेसी, ललिता निवासको जग्गा हिनामिनासम्बन्धी प्रकरण, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान तथा ठूला माफियाविरुद्ध कारबाही अघि बढाएको दाबी गरे ।
प्रचण्डले ‘पुराना र नयाँ’ को बहस दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले समेत गलत रहेको तर्क गरे । उनले राजनीतिक बहसको केन्द्र व्यक्ति वा पुस्ता नभई सही र गलत हुनुपर्ने बताएका छन् ।
‘सवाल पुराना र नयाँको होइन,’ उनले भने, ‘सवाल सही र गलतको हो । पुराना र नयाँ भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन पैदा गर्छ । सही र गलतको बहसले मात्रै रूपान्तरणसहित नयाँ एकताको आधार निर्माण गर्न सक्छ ।’


