बाजुरा । बाजुराको धार्मिक आस्थाको धरोहर भू–स्वर्ग बडीमालिका जाने क्रममा एक जना तीर्थयात्रीको मृत्यु भएको छ । भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो ।
पन्थीसहित तीन जनाको टोली बडीमालिका दर्शनका लागि जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासी बेहोस भएका थिए । बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पुर्याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेशबहादुर शाहीले बताए ।
उनका अनसार, शव अहिले जिल्ला अस्पताल मार्तडी राखिएको बताए । आज आफन्त पुगिसकेपछि शव पोस्टमार्टम गरेर जिम्मा लगाइने जानकारी दिए ।
पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका–७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उपसचिव ३४ वर्षीय शिवहरी न्यौपाने, शाखा अधिकृत वर्ष ३२ का जीवन घिमिरे र लेखापाल वर्ष ३५ का उमेश शर्मा बडीमालिका दर्शनको लागि हिँडेका थिए ।


