काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले भीआईपीहरूको उपचार खर्चबापत विगतमा राज्यकोषबाट खरच गरिएको रकम पार्टी खाताबाट फिर्ता गरिएको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्। शुक्रबार गुण्डूमा बसेको पार्टीको सचिवालय बैठकमा उपाध्यक्ष विष्टले यसबारे नेतृत्वको जवाफ माग गरेका हुन्।
बैठकमा विष्टले विगतमा कानुनविपरीत सरकारले गरेको खर्च अहिले पार्टीको कोषबाट तिर्नु कत्तिको जायज हो भन्दै प्रश्न उठाएका थिए। ‘विगतमा सरकार प्रमुख हुँदा नेतृत्वले गल्ती गरेको छ भने आफैँले ब्यहोर्नुपर्छ, त्यसको भार पार्टीलाई पार्नुहुँदैन,’ विष्टको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने। उपाध्यक्ष विष्टले प्रश्न उठाए पनि अध्यक्ष ओलीले भने बैठकमा कुनै जवाफ दिएनन्।
तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा जनस्वास्थ्य ऐन २०७५ को दफा ३० विपरीत भीआईपी उपचार खर्च भन्दै ३ करोड ९० लाख रुपैयाँ राज्यकोषबाट निकासा भएको थियो। कानुन अनुसार विदेशमा गरिएको उपचार खर्च सरकारले ब्यहोर्न मिल्दैन।
उक्त खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमालेले राष्ट्रिय वाणिज्य बैंकमा रहेको आफ्नो खातामार्फत ३ करोड ६७ लाख रुपैयाँ नेपाल सरकारको खातामा फिर्ता गरेको राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ।
पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसबारे आफूलाई कुनै जानकारी नभएको र पार्टीमा छलफल समेत नभएको बताएका छन्। अर्का एक पदाधिकारीले भने कुनै बाह्य स्रोतबाट पार्टीको नाममा रकम जम्मा गराई सरकारलाई फिर्ता गरिएको हुन सक्ने आशंका गर्दै यसबारे थप प्रष्टता माग गरिने बताए।


