काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् । रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका हुन् । भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ ।
सभापति लामिछानेको उच्च स्तरीय भेटघाट र कार्यक्रमहरूलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको रास्वपाले जनाएको छ ।


